काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ ।
मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो । यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली ’भीसीभी एमएस’ को प्रयोग गर्न निर्देशन दिएको छ ।
अब पालिकाले आफ्नै स्वामित्वमा रहने गरी निर्वाचन आयोगले तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्नेछ । मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भीसीभी एमएस स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने भएको हो ।
स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निणर्य भइसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तयारी तीव्र बनाएको छ ।