काठमाडौं । नेपालमा औसतमा वर्षेनी ८२ जना मानिसको चट्याङ लागेर मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । गत एक वर्ष हावाहुरीका ५५ वटा घटनामा ३ जनाको मृत्यु भएको थियो भने १ करोड बराबरको आर्थिक क्षति भएको थियो ।
यस्तै गत एक वर्षमा २ सय ९ वटा चट्याङका घटनामा ५५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
हावाहुरी र चट्याङको मौसम सुरु हुनै लाग्दा, प्राधिकरणले जोखिम न्युनीकरणका लागि पुर्वतयारी गर्ने तयारी गरिरहेको प्रवक्ता डाक्टर डिजन भट्राईले जानकारी दिनुभयो ।
चट्याङ विज्ञ श्रीराम शर्माले चट्याङ परेको बेला, धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम गर्न नहुने बताउनुभयो । त्यसैगरि अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्र वरीपरि पनि नबस्न उहाँको सुझाव छ ।
हावाहुरीको समयमा पनि सकेसम्म घर भित्रै बस्न विज्ञहरूको सुझाव छ । हावाहुरी र चट्याङबारेको पूर्व सूचनाले यसको जोखिम न्युनीकरण गर्न सकिने मौसम विज्ञहरूले बताएका छन् ।