काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ ।
युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा स्वदेश फर्किन इच्छुक नेपालीहरूलाई पनि ल्याउने प्रबन्ध मिलाउने प्रयास भइरहेको हो ।
त्यसैले स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरू स्थानान्तरण भई सीमावर्ती मुलुकहरू पोल्यान्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।
बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरू पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रूपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।रोमानिया सरकारले रो मानिया पुगेका नेपालीहरूलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लो भाकिया र रो मानिया प्रवेश गरेका नेपालीलाई गैर आवासीय नेपाली सङ्घ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्धार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।
बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का आफैँ पोल्यान्ड(युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्याण्डमा खटिएका छन् । युक्रेनबाट बाहिरिएका नेपालीहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।