दाङ । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो ।
अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने भन्दै विद्युत महशुलमा छुट दिने निर्णय गरेको बताउनुभयो ।
ग्रामिण बस्ति देखि शहर सम्म सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियो भएकाले सामुदायिक रेडियोलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । अमार्कका उपाध्यक्ष मिनबहादुर शाहिले सामुदायिक रेडियो सबैको पहुँचमा पुग्ने भएकोले रेडियोको सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरि सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरिले कोरोना महामारिका समयमा सामुदायिक रेडियोले ८५ प्रतिशत भन्दा बढि कार्यक्रम उत्पादन गरेको जानकारी दिनुभएको छ ।