
Bbbpu
rmb
ksbus
Pbu
bbbpu


रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३,औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनामा एक वृद्ध घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबिच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो ।
विवाद चर्किँदै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारकै क्रममा राति करिब ९ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा रामबहादुर साहको टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राममहेश्वर साह तथा झैझगडामा संलग्न उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यस्तै,स्थानीयका अनुसार पुरानो जग्गा विवादकै कारण घटना भएको प्रारम्भिक रूपमा खुलेको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
