
bbbpu
Pbu
rmb
ksbus
Bbbpu


दाङ । डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले उत्पादन गरेका फलफूलका बिरुवाहरु निःशुल्क रूपमा वितरण गरेको छ ।
स्थानीय तह, सामुदायिक वन, संघसंस्था तथा सर्वसाधारणलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बालगायतका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको हो ।
यस कार्यक्रममार्फत वातावरण संरक्षणसँगै स्थानीयस्तरमा फलफूल खेती विस्तार गरी आयआर्जनमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ । डिभिजन वन कार्यालय र गढवा सब–डिभिजन वन कार्यालयमा सञ्चालित नर्सरीबाट यस वर्ष एक वर्षे र बहुवर्षीय गरी ठूलो संख्यामा बिरुवा उत्पादन गरिएको छ । जसअनुसार एक वर्षे बिरुवा २ लाख १८ हजार ६३ र बहुवर्षीय बिरुवा ६१ हजार ३३७ उत्पादन गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै,फलफूलतर्फ १२ हजार ५९२ बिरुवा उत्पादन गरिएको छ । जसमा आँप ६ हजार ७५१, लिची २ हजार ६६०, कागती २ हजार १५०, कटहर ५३० र अम्बा ५०१ बिरुवा रहेका छन् । कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले हरियाली विस्तार, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै फलफूल खेतीलाई प्रोत्साहन गर्दै स्थानीयको आम्दानी बढाउने लक्ष्य पनि लिइएको छ ।
