
Sdc
Amb
Dbc


सिरहा । सिरहामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सखुवानकारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव रहेकी छन्।
स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती आफ्नै घरमा बसिरहेको बेला अचानक आएको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। जस्तापाता उडेसँगै पर्खाल भत्किँदा इँटाले टाउकोमा गम्भीर चोट लागेको कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाएको जनाएको छ।
गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ। अन्य स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ।
