
Amb
Dbc
Sdc


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा शनिबार आज तीन बुँदे सहमति भएको छ ।
उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय दुई दलले गरेका छन् । सहमतिअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गर्नेछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ ।
त्यस्तै,मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।
