दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भयाे ।
त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढायाे । घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइयाे । आमालाई वडा प्रहरी कार्यालयमा राखियाे । तर ती आमा एकसुरे हुने,नबाेल्ने,कुनै प्रतिक्रिया नदिने अवस्था भएपछि आमाकाे पनि उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइयाे । नवजात शिशु र आमाकाे उपचार चलिरहेको छ । तर उपचार गर्न आर्थिक संकट आइलाग्याे ।
अहिले प्रहरी निरीक्षक श्रेष्ठकाे बिशेष पहलमा उपचारलाई सहयाेग पुग्ने उदेश्यले सहयाेग संकलन अभियान चलाइएको छ । स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी,समाजसेवीहरुले ५८ हजार १ सय ४५ रुपैयाँ सहयाेग गरिसक्नु भएको छ ।
त्यस्तै थप सहयाेग गर्न इच्छुक व्यक्तिहरुलाइ लमही-७ का वडा अध्यक्ष माेनह गिरी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीकाे संयुक्त खाता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमहीमा सञ्चालन गरिएको छ । यस खातामा शुक्रबारसम्म रकम जम्मा गर्न सकिन्छ ।