
Tgp
Ksb
Ksb
Usb
Bsn
Ppu
Gsb
Nsb
Csb
Ksb
Rks
Rsb
Ssb
Ssb

Usb
Gsb
Ssb
Tsb
Hl1

Rgu
Nps
ptl
रुपन्देही । गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार ९ कूल बजेटको ७०.९८ प्रतिशत ० मात्रै खर्च गरेको छ ।
त्यसमध्ये हालसम्मको अद्यावधिक बेरुजु रु तीन अर्ब ९७ करोड ५७ लाख ४६ हजार रहेको महालेखा प्रतिवेदनमा उल्लेख छ । बेरुजुको अङ्क क्रमशः वृद्धि हुँदै गइरहेको छ भने बेरुजु फर्छ्योटमा क्रमशः कमी हुँदै आएको पनि उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारलाई रोक्न सकिएन भने बेरुजुको खाडल पनि बढ्दै जाने र जनतालाई महँगीको भार पनि बढ्दै जाने बताए । सरकारबाट हुने विकासका कामहरू नियमित प्रक्रियाबाट हुनुपर्ने बताउँदै सरकारले दिने अनुदानमा सञ्चालनको मापदण्ड बनाएर मात्रै अनुदान वितरण गर्नुपर्ने भनाइ राखे । बेरुजुको आँकडा प्रत्येक वर्ष बढ्दै जाने कुरा राम्रो नभएको बताउँदै नीतिनियम भन्दा बाहिरबाट हुने कुराहरूलाई निरुत्साहित गर्नुपर्ने पनि उनको भनाइ छ ।
उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारीका अनुसार सरकारले मातहतका सबै मन्त्रालयल र कार्यालयबाट राजस्व सङ्कलनको प्रक्षेपण लक्ष्य निर्धारण गरिएभन्दा २६ दशमलव छ प्रतिशतले कमी भएको छ । सरकारले २०७४/०७५ देखि २०७८/०७९ सम्मको आन्तरिक आय कूल रु १५ अर्ब ५५ करोड ५८ लाख ६४ हजार अनुमान गरेकामा रु ११ अर्ब ४१ करोड ८५ लाख १९ हजार मात्रै प्राप्त भएको छ । यो सरकारको लक्ष्यभन्दा २६ दशमलव छ प्रतिशतले कमी हो । त्यस्तै, राजस्व बाँडफाँटबाट रु ४३ अर्ब ७३ करोड २० लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको थियो । त्यसमा पनि रु ३७ अर्ब ८५ करोड ३० लाख १७ हजार मात्रै प्राप्त भएको छ । यो पनि १३ दशमलव ४४ प्रतिशत कमी हो ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले छोटो समयमा मन्त्रालय सङ्ख्या र मन्त्रिपरिषद् सदस्यको सङ्ख्या बढाउँदै जाँदा कार्यालय व्यवस्थापनमा थप व्ययभार बढ्दै गएको छ भने मन्त्रालयको कार्यक्षेत्रमा दोहोरोपना तथा अस्पष्टता हुन गई सरकारको कार्यसम्पादनमा असर परेको छ । जसका कारण बजेट व्यवस्थापनमा समेत चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको संविधानको धारा २४१ र लेखा परीक्षण ऐन,२०७५ बमोजिम सङ्घ,प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको नियमितता,कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण हुने व्यवस्था गरिएको छ । सोही अनुसार महालेखा परीक्षकको कार्यालयले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको हो । यो वर्ष लुम्बिनी प्रदेश मातहत एक सय ८९ सरकारी निकायको रु ४९ अर्ब ६६ करोड ३३ लाख ७२ हजार र समितिसमेत अन्य १६ वटा संस्थाको रु सात अर्ब ४१ करोड ७८ लाख ९१ हजार गरी कूल रु ५७ अर्ब आठ करोड १२ लाख ६३ हजारको लेखापरीक्षण गरिएको उपमहालेखा परीक्षक अधिकारीले जानकारी गराए । त्यसमध्ये रु एक अर्ब ४९ करोड ८० लाख ८५ हजार बेरुजु देखिएको उनले बताए ।
त्यस्तै गत वर्षसम्म रु एक अर्ब ७० करोड ६७ लाख ४० हजार बेरुजु रहेकामा यो वर्ष रु १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई एक अर्ब ५६ करोड ९० हजार बाँकी रहेको र यो वर्ष एक अर्ब ४९ करोड ८० लाख ८५ हजार थप भई जम्मा बेरुजु तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार अद्यावधिक भएको प्रतिवेदनमा उल्लेख छ ।
