दाङ । देउखुरीको राजपुर गाउँपालिकाले नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रवर्धनको कार्यक्रम संचालन गरेको पाइएको छ । मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गत आबको बजेटबाट नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रबर्धन गर्नका लागि सिचाई मोटर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभएको छ ।
खोलाको पानी मोटर मार्फत तानेर कागति खेतिमा सिचाई गर्न भनी टोलबिकास संसथाहरु र वडा कार्यालयको सिफारिसमा किसानहरुलाई टोलबिकास संस्थाको संरक्षणमा रहने गरि नाकाक्षेत्रहरुमा मोटर प्रदान गरिएको कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले जानकारी दिनुभयो । जस अनुसार राजपुर–७ को तालिकुरुवा,गोठुवा र हाडबास नाकामा सामुहिक सिचाईका लागि कागति खेति गरिरहेका किसानहरुलाई गाउँपालिका मार्फत मोटर प्रदान गरिएको हो । गाइघाट टोलबिकास संस्था र हाडबास टोलबिकास संस्थालाई एक÷एक थान तथा मल्केनी टोलबिकास संस्था तालिकुरुवा खोला लाई ३ थान एवं खेताने टोल बिकास संस्थालाई ३ थान खोलामा डुवाएर पानी तान्ने प्रयोजनका लागि २ हर्षपावरका मोटर र प्यानल बोर्ड एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको गाउँपालिका प्रशासनशाखा प्रमुख महेस थापा ठेडीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा मोटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनाल,प्रशासन शाखाका प्रमुख महेश थापा ठेडी,कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिका सदस्यहरु सिता यादव र राजेन्द्र चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता गिरिराज भट्टले गर्नुभएको थियो ।