दाङ । विश्व महामारी कोरोना भाइरसको कारण बार्षिक परिक्षा सञ्चालन गर्न नसकिएको भन्दै घोराही उपमहानगरपालिकाले निरन्तर मूल्यांकन र यस अघिका परिक्षाको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई परिक्षा सञ्चालन गर्न नसकिने अबस्था रहेकाले निरन्तर मूल्यांकन र प्रथम त्रैमासिक एवं अर्ध बार्षिक परिक्षाको आधारमा मल्यांकन गरि नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
त्यस्तै कोरोना संक्रमणका कारण गत बर्ष पनि यसरी नै बार्षिक परिक्षाको नतिजा तयार पारिएको थियो । जस अनुसार कक्षा १ देखी ३ सम्म गतबर्ष झै निरन्तर मूल्यांकनका आधारमा नतिजा तयार पारिने भएको छ । कक्षा ४, ६ र ७ को पनि गतबर्ष झै निरन्तर मूल्यांकन र प्रयोगात्मक बाहेक प्रथम त्रैमासिक र अर्धबार्षिक परिक्षामा प्राप्त गरेको अंकको आधारमा सैद्धान्तिक तर्फको ५०/५० प्रतिशत मानेर नतिजा प्रकाशन गर्नु पर्ने छ ।
त्यसैगरी, कक्षा ९ को हकमा भने प्रयोगात्मक बाहेक प्रथम त्रैमासिक परिक्षा ४० प्रतिशत, अर्धबार्षिक परिक्षा ४० प्रतिशतमा विद्यार्थीले प्राप्त गरेको अंक र विद्यार्थीको उपस्थिती र अभिलेखको २० प्रतिशतको आधारमा नतिजा प्रकाशित गर्ने शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिनु भयो । त्यस्तै कक्षा ५ र ८ को प्रथम त्रैमासिक परिक्षा ४० प्रतिशत, अर्धबार्षिक परिक्षा ४० प्रतिशतमा विद्यार्थीले प्राप्त गरेको अंक र विद्यार्थीको उपस्थिती र अभिलेखको २० प्रतिशतको आधारमा नतिजा तयार पार्ने कक्षा ८ को प्रयोगात्मक अंक भने अनलाईनबाट पठाउने निर्णय भएको अधिकृत पौडेलले जानकारी दिनु भएको छ ।