निराजन यादव शनिबार, भाद्र २०, २०८३

दाङ । शान्ति सुधा तेक्वान्दो दोजाङको आयोजना तथा शान्ति सुधा आवासीय विद्यालयको सहयोगमा घोराहीमा प्रथम शान्ति सुधा दाङ जिल्ला विद्यालयस्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०८३ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

‎विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने,तेक्वान्दो खेलप्रति विद्यार्थीको आकर्षण बढाउने तथा जिल्लामा खेलकुदको वातावरणलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अनुशासन,आत्मविश्वास, शारीरिक तन्दुरुस्ती र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

‎शान्ति सुधा आवासीय विद्यालयका हेडसर बालकृष्ण डाँगीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य तिरनदाज गौतम प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार,नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुन,दाङ जिल्ला तेक्वान्दो संघका सल्लाहकार किरण पौडेल लगायत विद्यालयका शिक्षक, समाजसेवी,खेलप्रेमी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

‎कार्यक्रममा तेक्वान्दो खेलाडी सुनिता विष्टले स्वागत मन्तव्य राख्दै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी,प्रशिक्षक, विद्यालय तथा अतिथिहरुलाई स्वागत गरेकि थिइन् । कार्यक्रमको सहजीकरण आयोजक तथा तेक्वान्दो खेलाडी दामु शर्माले गरेका थिए ।

‎कार्यक्रममा बोल्दै दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले विद्यालय तहबाटै खेलाडीको क्षमता पहिचान गरी उनीहरुलाई उचित प्रशिक्षण र अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । उनले तेक्वान्दो केवल पदक जित्ने खेल मात्र नभई अनुशासन,आत्मरक्षा,आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने माध्यमसमेत भएको बताए । विद्यालयस्तरमा यस्ता प्रतियोगिताको निरन्तरताले जिल्लामा तेक्वान्दो खेलको आधार बलियो बनाउने उल्लेख गर्दै अधिकारीले प्रतियोगितामा सहभागी खेलाडीलाई खेल भावना र अनुशासनलाई प्राथमिकता दिएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

‎दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले जिल्लाको खेलकुद विकासका लागि विद्यालयस्तरबाटै प्रतिभा पहिचान र विकास गर्नुपर्ने बताए । उनले खेलकुदले विद्यार्थीलाई स्वस्थ, अनुशासित र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

‎श्रेष्ठले विद्यालय,खेल संघ,स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउन सके दाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए । उनले प्रतियोगिता आयोजना गर्ने शान्ति सुधा तेक्वान्दो दोजाङ र सहयोगी शान्ति सुधा आवासीय विद्यालयलाई धन्यवादसमेत व्यक्त गरे ।

‎प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य तिरनदाज गौतमले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहलाई आधार बनाउनुपर्ने बताए । उनले विद्यार्थीको रुचि र प्रतिभालाई समयमै पहिचान गरी आवश्यक प्रशिक्षण,अवसर र प्रोत्साहन प्रदान गर्न सके खेलाडीले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन सक्ने बताए ।

‎गौतमले खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै मानसिक विकास,अनुशासन र नेतृत्व क्षमताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितामा सहभागी खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी हुन शुभकामना दिए । ‎उनले खेलकुदको विकासका लागि सरकारी निकायसँगै विद्यालय, अभिभावक, प्रशिक्षक, खेल संघ तथा निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताए ।

‎‎दाङमा पछिल्लो समय तेक्वान्दो खेलप्रति विद्यार्थी तथा युवाको आकर्षण बढ्दै गएको देखिन्छ । विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ । ‎यस्ता प्रतियोगिताबाट खेलाडीको प्रतिभा पहिचान हुनुका साथै उनीहरुलाई आगामी दिनमा जिल्ला,प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार पार्न सहज हुने विश्वास आयोजकको छ । प्रतियोगितामा विभिन्न विद्यालयबाट सहभागी खेलाडीहरूले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित,मर्यादित र खेलाडीमैत्री वातावरणमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

‎उद्घाटन कार्यक्रममा अतिथिहरुले खेलाडीहरुलाई शुभकामना दिँदै प्रतियोगितालाई सफल बनाउन आयोजक,विद्यालय, प्रशिक्षक,निर्णायक,अभिभावक तथा खेलप्रेमी सबैको महत्वपूर्ण भूमिका रहने बताएका थिए । ‎विद्यालयस्तरबाट खेलकुदको विकास,प्रतिभाको पहिचान र अनुशासनयुक्त पुस्ता निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रथम शान्ति सुधा दाङ जिल्ला विद्यालयस्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप–२०८३ ले दाङको तेक्वान्दो खेलको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]