
Sdc
Lnp
Ksbus
Asbus
Ksbus
Ggp
Ggp
Rgp
Msbus


दाङ । नेपाल प्रहरीले विभिन्न स्थानबाट लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार विभिन्न स्थानका जंगल,झाडी तथा ओडारबाट अवैध भरुवा बन्दुक फेला परेको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले भदौ १ गतेदेखि ४ गते सम्म चार दिनको अवधीमा उक्त संख्यामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिए । जिल्ला मातहतका प्रहरी कार्यालयको सहयोगमा अवैध हतियार बरामद भएको हो । उनका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित भित्री खोला सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
त्यस्तै,इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–४ स्थित भूमेबराह सामुदायिक वनबाट ४ नाल, ल्वाङे भत्कुले सामुदायिक वनबाट १ नाल र बंगलाचुली–५ तल्लो मुर्कुटीबाट २ नाल गरी ७ नाल बन्दुक बरामद गरेको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको टोलीले लमही नगरपालिका–७ बन्गैस्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल भरुवा बन्दुक,इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका –१४ स्थित दिव्यज्योति सामुदायिक वनबाट १ नाल, इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ चक्ला राष्ट्रिय वनबाट १ नाल ,अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको टोलीले लमही नगरपालिका–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल बन्दुक बरामद गरेको उहाले जानकारी दिए ।
यसैगरी प्रहरी चौकी पुरन्धाराबाट खटिएको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–८ हंसपुरस्थित दैलेढुङ्गा सामुदायिक वनबाट ५ नाल,बंगलाचुली गाउँपालिका–३ भेडाबारीस्थित राष्ट्रिय वनबाट २ नाल गरी ७ नाल, प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका –१९ बाम्लास्थित पालुङ सामुदायिक वनबाट १ नाल, प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१ छोटेस्थित नवदुर्गा सामुदायिक वनबाट १ नाल,अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–३ कालामारे जंगलबाट २ नाल र अस्थायी प्रहरी पोष्ट छिल्लीकोटबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका –१९ सुंगुरखोला स्थित कालिका सामुदायिक वनको ओडारमुनिबाट १ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका अवैध हतियारको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए । बरामद भएका हतियार कसले,कुन प्रयोजनका लागि र कहिलेदेखि जंगलमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
