
Ksbus
Asbus
Ggp
Rgp
Msbus
Lnp
Ggp
Sdc
Ksbus


दाङ । महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित न्यु गोरक्ष टोल विकास संस्थाले महिलाका लागि निःशुल्क पाठेघर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
महिलामा हुने पाठेघरसम्बन्धी समस्या तथा रोगको समयमै पहिचान,रोकथाम र उपचारमा पहुँच बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।न्यु गोरक्ष टोल विकास संस्थाको आयोजना,घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको समन्वय तथा नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टोल तथा आसपासका क्षेत्रका ६१ जना महिलाले निःशुल्क पाठेघर परीक्षण सेवा लिएका थिए ।
त्यस्तै,पाठेघरको मुखको क्यान्सर लगायत महिलामा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको प्रारम्भिक चरणमै पहिचान गर्न सके समयमै उपचार सम्भव हुने भएकाले परीक्षण कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बालाराम पुनले बताए । नियमित स्वास्थ्य परीक्षणको अभाव,स्वास्थ्य सम्बन्धी जानकारीको कमी तथा विभिन्न सामाजिक कारणले धेरै महिला रोगको प्रारम्भिक अवस्थामा परीक्षण गराउनबाट वञ्चित हुने गरेको अवस्थामा यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकको भनाइ छ ।
कार्यक्रम न्यु गोरक्ष टोल विकास संस्थाका अध्यक्ष बालाराम पुनको अध्यक्षता तथा घोराही–१५ का वडा सदस्य कृष्णा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णु अधिकारीले गरेका थिए । कार्यक्रममा महिलाको स्वास्थ्यलाई व्यक्तिगत विषयका रुपमा मात्र नभई परिवार र समुदायको समग्र स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो । महिलाको स्वास्थ्यमा समस्या देखिएमा त्यसको प्रत्यक्ष असर परिवारको दैनिक जीवन, बालबालिकाको हेरचाह तथा सामाजिक भूमिकामा समेत पर्ने भएकाले नियमित स्वास्थ्य परीक्षणको संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
त्यस्तै,आयोजक संस्थाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउनु,पाठेघरसम्बन्धी रोगको समयमै पहिचान गर्न प्रोत्साहित गर्नु,सम्भावित जटिलताबाट जोगाउनु तथा आवश्यक परेमा थप उपचारका लागि स्वास्थ्य संस्थासम्म पहुँच पुर्याउनु हो । निःशुल्क परीक्षण सेवाबाट लाभ लिएका महिलाहरुले घरदैलो नजिकै स्वास्थ्य परीक्षणको अवसर पाउँदा सहज भएको बताएका थिए । उनीहरुले आर्थिक तथा अन्य कारणले नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने महिलाका लागि यस्ता कार्यक्रम निकै उपयोगी हुने बताएका छन् ।
यस्तै,वडा कार्यालय,टोल विकास संस्था र स्वास्थ्य क्षेत्रका संस्थाबीचको सहकार्यमा सञ्चालन भएको कार्यक्रमले समुदायस्तरमै महिलाको स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ । आगामी दिनमा पनि आवश्यकता अनुसार स्वास्थ्य सचेतना, परीक्षण तथा परामर्शका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
