
ksbus
Amb
Sdc


दाङ । राजपुर गाउँपालिका वडा नम्बर१,गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयमा अनाथ तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गरी सुपानेट (झुल) र समर ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सि.पि. नेपालको आर्थिक सहयोग तथा राजपुर गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा लक्षित बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना आभियानकै क्रममा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन अभियान सञ्चालन गरी ४२ जना बालबालिकालाई विद्यालय भर्ना गराउन सफलता प्राप्त भएको विद्यालयले जनाएको छ ।
त्यस्तै,हालसम्म नियमित रुपमा विद्यालयमा उपस्थित हुँदै आएका बालबालिकालाई बिद्यलयमा टिकाउनको लागि प्रोत्साहन स्वरूप स्टेशनरी सामग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादव, शिक्षा, युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत कामना चौधरी तथा राजपुर गाउँपालिका महिला तथा बलबालिका शाखा प्रमुख सुनिता चौधरीको विशेष उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक सकलराम चौधरी, सहायक प्रधानाध्यापक दिलबहादुर शाही, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले यस प्रकारका कार्यक्रमले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन,नियमित पठनपाठनमा सहभागी गराउन तथा समावेशी शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
