
Sdc
ksbus
Amb


काठमाडौं । विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य,दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।
बोर्डले आज सोमबार जारी गरेको सूचनामा बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको पाइएको उल्लेख गरेको छ। साथै, केही विज्ञापनमा विज्ञापनकर्ताको नाम,ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण समावेश नगरिएको र तथ्यहीन,अतिरञ्जित तथा उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको जनाएको छ ।
त्यस्तै,विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ तथा विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्रीको परीक्षण तथा प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको बोर्डले स्पष्ट पारेको छ ।
यस्तै,बोर्डले हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका सबै विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै, प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन पनि निर्देशन दिएको छ । बोर्डले कानुनी व्यवस्था उल्लंघन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
