
Amb
Sdc


दाङ । नेकपा एमालेका अग्रणी नेता तथा दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
बस्नेतले दाङमा कम्युनिष्ट आन्दोलन विस्तार तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनी नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष तथा हाल पार्टीको केन्द्रीय
सल्लाहकार परिषदका सदस्य थिए । पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा उनले इमानदार, शालीन र समर्पित नेतृत्व प्रदान गरेका थिए ।
त्यस्तै,उनको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा उनलाई सम्मान गरेका थिए ।
तुलसीपुर ११ निवासी बस्नेतको निधनप्रति नेकपा एमाले दाङले गहिरो दुःख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले उनको निधनले दाङको कम्युनिष्ट आन्दोलन र नेकपा एमाले दाङलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
त्यस्तै,बस्नेतको निधनप्रति विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन् ।
