
Amb
Dbc
Sdc


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा श्री माध्यमिक विद्यालय चैनपुर, गढवा–५, चैनपुर, देउखुरी, दाङमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १२ सम्मका ४५३ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक, टाइ तथा बेल्ट वितरण गरिएको छ ।
विद्यार्थीलाई समान अवसर प्रदान गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम शुक्रबार एक विशेष समारोहबीच सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता थापा मगरको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाको शिक्षा शाखाका प्रशासन सहायक रविलाल माझी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको सुरुवात शिक्षक प्रतिनिधि टेकबहादुर यादवको स्वागत मन्तव्यबाट भएको थियो । विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै विद्यार्थीको शैक्षिक विकासमा स्थानीय तहको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार टंक बुढाथोकी, शिअ संघ संयोजक रामशरण यादव, वडा सदस्य खीमा डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएको यस प्रकारको लगानीले विद्यार्थीको मनोबल बढाउनुका साथै अभिभावकको आर्थिक भारसमेत कम गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक दमबहादुर बुढाथोकीले गरेका थिए भने प्राविधिक व्यवस्थापनमा शिक्षक दिनेश चौधरीले सहयोग गरेका थिए ।
त्यस्तै,उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गढवा गाउँपालिका वडा नं. ५ तथा वडा कार्यालयप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा यस्ता विद्यार्थीमैत्री कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन् ।
स्थानीय सरकारको शिक्षा-प्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरणका रूपमा रहेको यस कार्यक्रमले विद्यार्थीमा समानताको भावना विकास गर्नुका साथै नियमित पठनपाठनप्रति थप उत्साह जगाएको विद्यालय परिवारको विश्वास रहेको छ ।

