
Amb
Sdc
Dbc


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४, सरस्वती टोल निवासी ६८ वर्षीया मुलजिता रोकाले जालसाजी गरेर बिक्री भएको जग्गा पाँच वर्षपछि फिर्ता पाएकी छिन् ।
रोकाको नाममा रहेका घोराही–७, सौँडियारस्थित कित्ता नंं. ३÷क ९२६ नम्बरको १० कट्ठा आठ धुर जग्गा जालसाजी गरेर बिक्री भएको थियो । जनज्योति पशुपन्छी पालक कृषक सहकारी संस्थालाई २०७८ साल असार १६ गते वार्षिक २४ हजार रुपैयाँ तिर्ने गरी १० वर्षका लागि भाडामा दिएको जग्गा घोराही–१५ निवासी टीका बुढा लगायतका व्यक्तिले २०७८ असार २८ गते जालसाजी गरेर जग्गा बिक्री गरेका थिए ।
त्यस्तै,रोकाको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जा नक्कली निर्माण गरी घोराही–७ बाट बिक्रीका लागि सिफारिस निकालेर मालपोत कार्यालय घोराहीमा घरजग्गा लिखत गर्ने लेखनदासहरूको मिलोमतोमा जग्गा अर्कैको नाममा पास गरिएको थियो । आफ्नो नाममा रहेको जग्गा आफूलाई थाहै नदिएर बिक्री गरेको रोकाले जग्गाको राजस्व तिर्न वडा कार्यालयमा जाँदा २०७९ सालमा थाहा पाएकी थिइन् । जग्गा बिक्री भएको थाहा पाएदेखि फिर्ताका लागि निरन्तर प्रयास गरे पनि जग्गा बिक्री गर्ने नाताले भदै पर्ने बुढाले विभिन्न बहाना बनाएर टार्दै आएका थिए ।
यस्तै,सहकारीलाई जग्गा भाडामा दिँदा साक्षी बसेका बुढाले जालसाजी गरी घोराही निवासी लक्ष्मण शर्माका नाममा २०७८ साल असार १६ गते रजिस्ट्रेसन पास गरेका थिए । २० लाखको कागजी मूल्याङ्कन गरी त्यो समयमा जग्गा बिक्री भएको थियो । सोही जग्गा लक्ष्मण शर्माका नामबाट २०८१ चैत्र ८ गते घोराहीकै पर्शुराम श्रेष्ठका नाममा पास भएको मालपोत कार्यालय घोराहीको अभिलेखमा भेटिएको थियो ।
त्यस्तै,पत्रकार, आफन्त तथा प्रहरीको सहयोगमा पाँच वर्षपछि जग्गा आफ्नो नाममा आएको जग्गाधनी रोकाले बताएकी छिन् । उनले जग्गा आफ्नो नाममा ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद दिएकी छिन् ।
