
Dbc
Amb
Sdc


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँएको छ ।
नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी लगायत विभिन्न कम्युनिस्ट दल तथा सङ्गठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका थिए । वि.स. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनका प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन् ।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । साथै, विभिन्न पुस्तक, लेख तथा वैचारिक दस्तावेजमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरेका थिए ।
वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसअघि वि.सं.१९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर उहाँले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए । पुष्पलालले नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा अघि सारेका थिए ।
त्यस्तै,वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो । स्मृति दिवसका अवसरमा आज नेकपा एमाले काठमाडौं उपत्यका विशेष प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य कम्युनिस्ट दल तथा सङ्गठनहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरेर मनाएका छन् ।
