
pvg
snmbs
Dbc
Snmbs
Dpm
Sdc
Ges
sjnsplk
Pbu
Gesld
rgs
Snmbs
dpm
Mbf
Amb


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशील राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर अपराध सम्बन्धी विद्यालय सचेतना अभियानलाई निरन्तरता दिएको छ ।
समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्य सहित मञ्चले शुक्रबार राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रम समयको आवश्यकता भएको बताए । उनले विद्यार्थीहरुलाई कुलत, साइबर अपराध र ट्राफिक दुर्घटनाबाट जोगाउन समुदाय,विद्यालय, अभिभावक तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । चौधरीले राप्ती प्रेस मञ्चले सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक अभियान सञ्चालन गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
त्यस्तै,उनले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै सही शिक्षा,अनुशासन र सचेतनाको माध्यमबाट जिम्मेवार नागरिकका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याए । पछिल्लो समय किशोर–किशोरीहरू लागुऔषधको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग तथा ट्राफिक नियम उल्लंघनका कारण विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गर्दै यस्ता अभियानले विद्यार्थीहरुलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुनले लागुऔषधका विभिन्न प्रकार, त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर तथा समाजमा निम्त्याउने चुनौतीका विषयमा विस्तृत जानकारी दिए । उनले लागुऔषधले व्यक्तिको शारीरिक, मानसिक,पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर पार्ने बताउँदै विद्यार्थीहरुलाई यस्ता कुलतबाट टाढा रहन आग्रह गरे । पुनले लागुऔषध प्रयोगको सुरुवात प्रायः साथीभाइको दबाब,जिज्ञासा वा गलत संगतबाट हुने भएकाले सही साथी छनोट गर्नुपर्नेमा जोड दिए । उनले जीवनमा सकारात्मक सोच,लक्ष्य निर्धारण र अनुशासित जीवनशैली अपनाउन सके लागुऔषधको जोखिमबाट बच्न सकिने बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध, अनलाइन ठगी तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगका विषयमा प्रशिक्षण दिए । उनले प्रविधिको विकाससँगै साइबर अपराधका घटनाहरु पनि बढ्दै गएको बताउँदै विद्यार्थीहरुलाई ह्वाटसव,फेसबुक,टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन सुझाव दिए । प्रहरी सहायक निरीक्षक विकले अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी साझा नगर्न, शंकास्पद लिंक नखोल्न, बलियो पासवर्ड प्रयोग गर्न तथा अनलाइन माध्यमबाट हुने ठगीबारे सचेत रहन आग्रह गरे । साइबर अपराधका कारण आर्थिक तथा मानसिक क्षति हुने भएकाले डिजिटल साक्षरता र सचेतना अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम प्रसाद पोख्रेलले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिए । उनले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना नगर्दा हुने दुर्घटनाका उदाहरण प्रस्तुत गरे । पोख्रेलले मोटरसाइकल चालक तथा पछाडि बस्ने दुवैले हेलमेट अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने, चारपाङ्ग्रे सवारीमा सिटबेल्ट लगाउनुपर्ने तथा पैदल यात्रुले पनि सडक प्रयोगका नियमहरू पालना गर्नुपर्ने बताए । उनले साना–साना लापरवाहीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सडकमा हिँड्दा तथा सवारी साधन प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
मञ्चका अनुसार विद्यालयस्तरमा सञ्चालन भइरहेको यो अभियान आगामी दिनमा पनि राप्ती गाउँपालिकाका विभिन्न विद्यालयहरुमा निरन्तर सञ्चालन गरिने छ । समाजमा बढ्दो लागुऔषध दुव्र्यसन,साइबर अपराध र सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएकाले अभियानलाई थप व्यापक बनाइने मञ्चले जनाएको छ ।कार्यक्रममा १ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु गरेको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
