
Ksbus
Ksbus
Asbus
Lnp
Rgp
Ggp
Ggp
Msbus
Sdc


काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार अबेला आएको सर्वोच्च अदालतको फैसलापछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको स्पष्ट पारेका छन् ।
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ, उनले लेखेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
उनले देशभित्र वा बाहिर रहेका पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट पार्टीको एकता र पुनर्जागरणका लागि जिम्मेवारीका साथ सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन् । साथै, पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो रहेको उल्लेख गर्दै सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको जनाउँदै थापाले यसलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् ।
अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने तथा समुन्नत नेपाल निर्माणमा योगदान दिने पार्टी बनाउन सबै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
