Sidha Patra आइतबार, मंसिर २१, २०८२

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा –नौबिसे–मलेखु सडक खण्ड आंशिक रुपमा बन्द गरिने भएको छ ।

यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा –मुग्लिङ सडक योजना (पूर्वी खण्ड),जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् ।

जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।

नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।

सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ । यस्तै मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ । यस्तै गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई गल्छी, बैरेनी र मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिने छ । साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला–भिमढुङ्गा–रामकोट–धार्के सडक,सामाखुसी–टोखा–छहरे–त्रिशुली (बिदुर)– गल्छी सडक र जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेशीको त्रिशुली पुल वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै सडक बन्द रहेता पनि एम्बुलेन्स,सुरक्षा निकायका सवारी साधन,दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ । यस्तै आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]