
Ggp
Lnp
Ggp
Ksbus
Msbus
Ksbus
Asbus
Sdc
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा प्रतिजैविक (एण्टिबायोटिक) प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ।
“प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” भन्ने नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हो।
स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिजैविक प्रतिरोध रोकथामका लागि समुदायस्तरमै सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए ।
“एण्टिबायोटिकको अनियन्त्रित प्रयोगले स्वास्थ्य प्रणाली नै जोखिममा पारिरहेको छ। चिकित्सकको सल्लाहबिना सेवन गर्ने प्रवृत्ति बढेको छ, जसले सामान्य रोग पनि गम्भीर बन्न थालेका छन्,”—अध्यक्ष विष्टले भने ।
उहाँले पशु,पंक्षी तथा बाली उत्पादनमा समेत एण्टिबायोटिकको दुरुपयोगले मानव स्वास्थ्य तथा वातावरणमा असर पारिरहेको बताउँदै यसको न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
साथै, केही औषधि व्यवसायी तथा स्वास्थ्यकर्मी स्वयंले पनि आवश्यकता भन्दा बढी एण्टिबायोटिक दिने प्रवृत्ति देखिएको र यसले समस्या झनै जटिल बनाएको टिप्पणी गरे । औषधिकाे पूरा कोर्स नगर्ने बानीले पनि प्रतिरोध दर बढाइरहेको उनको भनाइ थियो।
त्यस्तै कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज ढकालले प्रतिजैविक प्रतिरोधका कारण,जोखिम, विश्वस्तरीय तथ्यांक तथा नियन्त्रणका उपायसम्बन्धी विषयमा विस्तृत रूपमा प्रस्तुति दिए । उनले एण्टिबायोटिकको दुरुपयोग विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखिएको भन्दै समन्वित प्रयास आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी तथा एग्रोभेट व्यवसायीहरुको सहभागिता रहेको थियो ।
