Sidha Patra सोमबार, कार्तिक १०, २०८२

काठमाडौँ । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन रहेको छ । साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।

बिहानै अज स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

त्यस्तै ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख,बिरुवा,वनस्पति,प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भएपनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

त्यस्तै षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

यस्तै विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]