
Rgp
Rgp
Sgp
Ggp
Ggp
Rgp
Asb
Pbu
Rgp
ksb
Lnp
Dbs
Jns
Dus
lnp
Lks
Usb


बैतडी । दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ ।
कार्तिक शुक्ल पक्षमा बैतडी,दार्चुला,डडेल्धुरा,डोटी, बझाङ लगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए । उनले भने, “दसैँको समयमा जात्रा लागेका मन्दिरहरूमा पनि कार्तिक शुक्ल पक्षमा समेत पूजाआजासहित जात्रा हुने गरेको छ । शरद ऋतु देवीदेवताहरूको पूजाउपासना गर्ने उत्तम ऋतुका रूपमा मानिन्छ । त्यसैले कार्तिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजन गर्ने चलन रहिआएको छ ।”
त्यस्तै कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको लेकमका नरेन्द्र रावलले बताए । उनले भने, “असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा पनि विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरूमा सामूहिक पूजाआजा गर्ने चलन छ । कार्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ ।”
कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।
यस्तै दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा जात्रा लाग्ने गर्दछ । लटिनाथ मन्दिर बन्तोलीमा कार्तिक शुक्ल द्वितीयाको राति जात्रा लागिसकेको छ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन् । त्रिपुरासुन्दरी भगवती,रौलाकेदार,शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मेलौली भगवती,फाल्ङासैनी भगवती,उग्रतारा लगायत मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ र गणमेश्वर मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । यहाँ लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् ।
बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका स्थानीय नरेन्द्र थापाले बताए । उनले भने, “कार्तिक शुक्ल सप्तमीदेखि सुरु भई कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने मेलामा भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । हाम्रा सांस्कृतिक चाडपर्वमा भारतीय दर्शनार्थी आउने गर्दछन् ।”
त्यस्तै प्रत्येक वर्ष हजारौँको लगानी गरेर भारतीय दर्शनार्थीहरू नेपालका बैतडी,डडेल्धुरा, दार्चुला पुग्ने गरेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने, “विशेष गरेर त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शनका लागि हामी पुस्तौँदेखि आउने गरेका छौँ । यो वर्ष पनि हजारौँले दर्शनको तयारी गरेका छन् । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हामी भगवती मातालाई भाकलअनुसारका चिजवस्तु अर्पण गर्ने गर्दछौँ ।” जात्राकै लागि भनेर कैलाली कञ्चनपुरमा बसाइँ सरेकाहरू पनि आउने गरेका छन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक, आत्मीयता र भ्रातृत्वको भावना बढाउने विश्वास गरिएको छ । रासस
