
lnp
Rgp
Lks
Ggp
Dus
Usb
Jns
ksb
Rgp
Lnp
Rgp
Sgp
Ggp
Rgp
Asb

lms

काठमाडौं । देशभरका विभिन्न कारागार तथा बाल सुधार गृहबाट भागेका १६६ जना मकवानपुरबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा उनीहरु कारागारबाट भागेका थिए ।
नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना अझै फरार छन् । उक्त कारागारमा एक नाबालकसहित १ हजार ६६ जना कैदीबन्दी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै उनका अनुसार मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए । काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेकामध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
यस्तै कास्की कारागारबाट भागेका एक जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए । उनीहरुको पहिचान गर्ने कार्य भइरहेको र सुरक्षा निकायहरुले फरार रहेका अन्य कैदीबन्दीहरुको पनि खोजी कार्यलाई तीव्रता दिएको उनले बताए ।
