दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।
सोमबार आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।
त्यस्तै जिल्ला भित्रको दमकलले मात्र नभ्याउने भएपछि बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले संयुक्त रुपमा आगो निभाउन खटि रहेका छन् ।
यस्तै आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट करोडौंको नोक्सानी भएको अनुमान गरिएको छ ।