दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि गोरखा स्कुल अगाडी भएको बताएका छन् । अष्ट्रेलियाबाट समेत स्कुलले सम्मान पाउनु भनेको स्कुलको मात्र उपलब्धि नभएर समग्र लमही नगरपालिकाको गर्वको विषय भएको प्रमुख चौधरीले बताए ।
त्यस्तै संस्कार सहितको शिक्षा नै अहिलेको युवा पिढीको लागि आवश्यकता भएकोले विद्यालय संचालक, अभिभावक, शिक्षक र विद्यार्थीहरुले बुझ्न जरुरि रहेको बताए । शारीरिक र मानसिक विकासका लागि शिक्षा अत्यन्तै अपरिहार्य रहेको नगर प्रमुख चौधरीको भनाई छ । सामाजिक विकृति हटाउनका लागि शैक्षिक संस्थाहरुले नै अग्रणी भूमिका खेल्नु पर्ने प्रमुख चौधरीले बताए ।
यस्तै कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल ४१ नबर गणका सशस्त्र प्रहरी प्रमुख एसपी गुणराज न्यौपानेले मानव शरीरका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । अर्को कुरा सकारात्मक सोच हुनेले मात्र प्रगति गर्दछ, जस्ले सामाजिक क्षेत्रमा केही गरेर देखाउनु पर्छ भन्ने मानसिकता राख्दछ उसैले मात्र प्रगति गर्ने एसपी न्यौपानेले बताए । पहिले लाहुरेमा भर्ती हुने उदेश्यले पनि खेललाई महत्त्व दिएर खेल खेलाइने गरिन्थ्यो भने,अहिले खेलकुद क्षेत्रबाट नै भविष्य निर्माण गर्न खेललाई प्राथमिकता दिएर खेल खेलाइने गरिएको एसपी न्यौपाने बताए ।
त्यस्तै कार्यक्रममा खेलकुद विकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुदमा लगानि गर्नु पर्ने बताए । धेरै आर्थिक आय आर्जन गरि राज्यलाई राम्रो कर तिर्नेमा पनि खेलाडीहरु रहेको बताउदै कोषाध्यक्ष आचार्यले खेलाडीहरु राष्ट्रको पहिचान भएको बताए । यस्तै कोषाध्यक्ष आचार्यले गोरखा ग्रुपद्वारा संचालित रहेका विद्यालयहरुबाट अहिले दाङ जिल्लामै टप स्थानमा रहेर गुणस्तर शिक्षा प्रदान गरिरहेको समेत बताए ।
सप्ताह कार्यक्रममा फुटबल,भलिबल,एथलेटिक्स खेल, क्रिकेट,बास्केटबल,चम्चा रेस,कुर्सी दौड लगायतका खेलहरुको आयोजना गरिएको थियो । खेलमा प्रथम, द्वितीय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने सम्पूर्ण खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विद्यालयका प्राचार्य लोकमान रिजालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विभिन्न मौलिक तथा संस्कृति झल्किने खालका नृत्य प्रस्तुतिहरु प्रस्तुत भएका थिए ।
कार्यक्रमको संचालन बिज्ञान संकाय संयोजक प्रकाश रिजाल र प्राइमरी तहकि संयोजक शिला रिजालले गरेका थिए । विद्यालयको सातौँ वार्षिकउत्सव यहीँ पुस १९ गते हुने स्कुलले जनाएको छ ।
त्यस्तै उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष मान बहादुर बुढा मगरले ३० वर्ष पहिले देखेको सपना अहिले पूरा हुँदै गएको बताएका छन् । उनले अहिले गोरखा मोडेल स्कुल एउटा मोडेलको रुपमा अघि बढेको समेत बताए । यस्तै उनले आफ्नो सपना अझै साकार नभएको र सगरमाथाको शिखर झैँ अग्लो बनाउन बाँकी रहेको हुँदा स्कुलमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका र स्कुलमा अध्ययनरत विद्यार्थी र विद्यार्थीका अभिभावकलाई समेत तन-मन लगाएर एकरुपता साथ लाग्न आग्रह गरेका छन् ।यसैगरी खेलकुद सप्ताह कार्यक्रममा भाग लिएका सम्पूर्ण विद्यार्थीहरुलाई खेलमा हार-जित हुने भएको हुँदा बिजेता हुनेलाई बढाइ दिदै पराजित हुनेलाई कति पनि बिचल्ली नभएर आफ्नो लक्ष्य अनुरुप निरन्तर मनोबल दरिलो बनाएर अघि बढ्न अध्यक्ष बुढा मगरले आग्रह गरे ।