दाङ । भालुबाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समितीले बुधबार राप्ती गाउँपालिका -१, भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी क्याम्प घेराउ गर्नुका साथै प्ले कार्ड सहित प्रदर्शन गरेकाे छ ।
संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति,भृकुटी महिला विकास र स्थानीयहरूले मध्याह्न १२ बजेदेखि ३ बजेसम्म भालुवाङ पुल्चोक बजार,भालुवाङ पुरानो बजार भालुवाङ,ईलाका प्रहरी कार्यालय घेराउ र सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वाटर ज्वालामाईको गेट अगाडि चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
बलात्कारीलाई सार्वजनिक गर,अपराधी लुकाउन पाइदैन, सत्यतथ्य बाहिर ले,न्याय मार्न पाउदैन र बलत्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए । आक्रोशित आन्दोलनरत पक्षले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै दाेषीलाईछितो भन्दाछितो पक्राउ गरी सार्वजनिक नगरिए अझै शसक्क्तआन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोणसभालाई संघर्ष समितिका संयोजक सुरज खड्का,उप-संयोजक प्रकाश शाही,राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल,भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्याैपाने,व्यापारीको तर्फबाट तुला गिरी र महिलाको तर्फबाट लक्ष्मी गिरी लगायतका वक्ताहरूले बाेलेका थिए ।
सशस्त्र प्रहरी क्याम्प नजिक बनाइएको पीङ खेल्न गएकी आठ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका सँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि भन्दै १४ दिनदेखि प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । दुबै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ ।
त्यस्तै ‘पीडित बालिका प्रहरीको संरक्षणमा छन् प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । गत असोज २४ गते भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पीङ खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरी बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् ।