दाङ । राप्ती अञ्चलकै पुरानो नाका दाङको कोईलाबासमा पर्यटनको आकर्षण बढ्न थालेको पाइएको छ ।
गत २०८० को जेठ १० देखि कोईलाबासमा स्काई साईकिलीङ् उद्घाटन भएपश्चात् कोईलाबासमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्न थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकिले बताए ।गत अबको गढवा गाउँपालिका वडा नम्बर ८ को ३० लाखको बजेटबाट कोईलाबास पुलको उत्तरतर्फ खोलामा फलामको तारबाट बिद्युत्तिय प्रविधीको प्रयोगगरी साईकिल वारपार गर्ने रमणियता आरम्भ भएपछि केबुलकारमा जस्तै पर्यटछकहरुको लर्को सुरु भएको पाईएको छ । हरेक आईतवार छिमेकी मूलूक भारतको उत्तरप्रदेशका विभिन्न स्थानहरुबाट ठूलो संख्यामा पर्यटकहरु आउने गर्छन् । उनिहरु स्काई साइकिलीङ् गरेर रमाउँछन् भने झोलुङ्गे पुलमा रमाउँछन् । मुख्यतः स्काई साईकिल चढ्ने,झुलुङ्गे पुल तर्ने र कोइलाबासमा रहेको भ्यूटावर चढेर भारतीय पर्यटकहरु भरपुर आनन्द लिने गरेको वडा अध्यक्ष सिद्दिकीले बताए ।
यत्तिमात्र होइन आकाशे साइकिल संचालनमा आएपछि शनिवार तथा हरेक दिन जसो आन्तरीक पर्यटकहरु पनि कोईलाबासमा आउने गरेको र स्काई साईकिलिङ चढेर रमाउने गरेको पाईएको छ । छिमेकी देश भारतमा सरसामानहरु किनमेल गर्न जाने अधिकांश नेपाली नागरिकहरु जिल्लाकै नयाँ मोडेलको पर्यटन आकर्षण स्काई–साईकिलमा चढेर रमाउन यहाँ आउने गरेका छन्वडा अध्यक्ष सिद्दिकीले भने ।
लमही,कोईलाबास सडक कालोपत्रे भएसंगै कोईलाबासको मुहार बिस्तारै फेरिन थालेको छ । यहाँ जनकपुर पछिको दोश्रो ठूलो रामजानकी मन्दिरको दर्शन गर्न पनि वर्षमा हजारौं आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गरेको मन्दिरका पूजारीले बताए । छिमेकी देश भारतका कैयौं विद्यालयहरुबाट विद्यार्थी लिएर कोईलाबासमा शैक्षिक भ्रमणमा शिक्षकहरु आउने गरेको पनि पाईन्छ । भारतीय पर्यटकहरु विशेष गरि रामजानकी मन्दिर, झोलुङ्गे पुल,स्काई साईकिल र भ्यूटावर हेर्न आउने गरेको पाईएको छ ।त्यस्तै यस बाहेक कोइलाबासमा रहेको आँखा अस्पलालमा आँखा स्वास्थ्य सेवा लिन,होटलमा भारतको तुलनामा खानपिनमा फ्रिडम हुने भएकोले रमाउन र पहाड चढेर रमाउन अधिकांश भारतीय पर्यटकहरुको रोजाई भएको बताईएको छ । कोइलाबासको पर्यटन विकासमा थप प्रभावकारीता ल्याउन भारतीय भन्सार कष्टम नजिक आउनुपर्ने, होलसेलका ठूला ब्यापारी तथा उद्योगीहरु कोइलाबासमा आई पसल संचालन गर्नुपर्ने,बैंक तथा बित्तीय संस्थाहरु बस्नुपर्ने र होटल तथा रिसोर्टहरुको सञ्चालन गरिनुपर्ने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले बताए ।
कोइलाबासले पुर्नजिवन त पाउन नसक्ला यद्यपि नयाँ जीवन दिन यहाँको पर्यटन विकास अति जरुरी छ । कोइलाबासमा सुविधासम्पन्न स्विमीङ हाउस सहितको रिसोर्ट,खानेपानीको प्रयाप्तता, वडा कार्यालयदेखि डाँडागाउँ जोड्ने झोलुङ्गे पुल, बैंकहरुको स्थापना र भारतीय कष्टमलाई नजिक ल्याउन सकेमा कोईलाबासको पर्यटन विकास संभव छ । जसले गर्दा कोईलाबासको मुहार फेरिन सक्ने स्थानीय सामाजिक अभियन्ताहरु बताउँछन् ।