दाङ । देउखुरीको राप्ती गाउँपालिका अन्तरगतको प्रगन्ना सिँचाई कुलो खन्ने समयमा ढुंगा जन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले घुस लिएको घटना बाहिरिएपछि नेपाल पत्रकार महासंघ दाङले ध्यानाकर्षण जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आर के शितलले प्रेस विज्ञप्ती जारी गर्दै ढुंगाजन्य वस्तु उत्खनन्का लागि जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख,जनप्रतिनिधी,पत्रकार लगायतलाई रकम बाँडेको घटना सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ’-विज्ञप्तीमा उल्लेख छ ।
घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्य छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।
ढुंगाजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ दाङका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौं रकम घुस दिएको ठेकेदार प्रकाश शाहीले बिहिबार राती विवरणसहित आफ्नो फेसबुक वाल मार्फत सार्वजनिक गरेका थिए । तर अहिले उनले उक्त पोस्ट हटाएका छन् ।