अविचल आस्था मणि/तनहुँ,नेपाल आइतबार, फाल्गुण २८, २०७९

१.
खुला किताब जिन्दगी, झलल्ल झल्कियोस् सफा
इमानको विमानमा विराजमान यो कथा
समग्र विश्व शान्तिको, विकासको कुरा गरी
सुधार होस् विचारमा उदार भावना भरी ।

२.
तनावहीन स्वादिलो छ वर्तमानको कुरा
विवेक वाञ्छनीय छन् नयाँ बिहान आँकुरा
छ भोक, रोग, शोकको जरो सबै उखालिने
छ द्वेष, क्लेश, मूर्खता सबै सबै पखालिने ।
३.
असत्य माथि सत्यको छ जीत स्वच्छ निश्चित
विवाद नासिने कुरा बनी सक्यो सुनिश्चित
इमान प्वाँख फैलने, विमान कालको चढी
छ मेल येा उकासिने हिमाल टाकुरा चढी ।
४.
पुकारमा पवित्र जो निखार ल्याउने कला
विकास हुन्छ देशको, भविष्यमा अझै भला
निशङ्क छन् हुने सबै सपार्न विश्व एकता
छ एकमा अनेकता विचित्र भावना लता ।
५.
धरा हुनेछ उर्वरा, समस्त सौम्य सुन्दर
निकालिएर फालिने सबै कुरा असुन्दर
सुस्वप्न देखिने सधैं विकासको, निकासको
नयाँ बिहान आउने उदाउला निसाफको ।
६.
प्रसन्नता प्रचारमा प्रसार जीवनी बुटी
मिलेर पाहुना सबै रमाइलो बनोस् कुटी
निरोग बाँडिने भयो, विरोध भाँडिने भयो
अभाव, दम्भ, स्वार्थको जरा उखालिने भयो ।
७.
निषिद्ध काम रोकिने, विशिष्ट काम थालिने
सहर्ष जीवनी कला समर्थ छन् उचालिने
जरो सबै उखालियो अभावको, अनिष्टको
प्रभाव भाव पालियो स्वभावमा घनिष्टको ।
८.
सुनेर वाचना कला म मस्त दङ्ग पारिएँ
हट्यो उदासको पला खुला बनें उघारिएँ
म सङ्ग टाढिए सबै विकार, दुष्ट भावना
म आउँदा तिमी थियौ मुसुक्क मग्न कामना ।
९.
हटेर वैर टाढिए, सचेतना समालिए
जरा जरा भिजे सबै, कुरा किसानका खिले
दया मयाँ छ भन्दछन्, सुरम्य मन्द छन्द छन्
प्रवेश स्वस्थ शान्त छन् प्रयासमा प्रबन्ध झन् ।
१०.
नराख भाव खिन्नता, सपार लौ अभिन्नता
छ काल साथ मित्रता, कि वा दरित्रता सदा
म को विकासमा बढे हुनेछ साम्य एकता
विभिन्न रूप खिल्दछन् खिली रहून् अनेकता ।
११.
म हार्न चाहना कसै नराख्न बन्छु भिक्षुक
सदैव प्रेम झाङ्गियोस् भनेर भन्न इच्छुक
म सङ्ग प्रश्न छन् खुबै जवाफ यी सवालको
मुना मुसुक्क मस्किइन् इमानमा कमालको ।
१२.
विचारमा विशुद्धता प्रबुद्धता अपारको
छु पाउँदा रमाउँदै विशेष भाव प्यारको
चपक्क बाँधिने भएँ पियार रन्ध्र जो थियो
उदारता पवित्रमा धपक्क बल्छ त्यो दियो ।
१३.
पढेर एक अक्षरी अनेक अर्थ लाउनू
मिलेछ बाध्यता भने परै कतै धपाउनू
म सङ्ग मिल्न सक्छ को खुलस्त भन्न आउनू
मुसुक्क हासिने गरोस् विवादमा रमाउनू ।
१४.
लु हेर के भने भने म अर्थ बोधको कमी
बुझेर छक्क जो परें परेछ याम मौसमी
निपात वा विपात हो, सकिन्न बुझ्न के गरूँ
उडान बास पो सरूँ कि वा ढलीमली गरूँ ।
१५.
मिलेन भावना भने बसे भयो निरुत्तर
भनेर भन्दछौ सखा ! म सङ्ग छैन उत्तर
गरेर प्रश्न यो घरी खडा भयौ भयङ्कर
खुला छ तान्डवीयता कडा महेश, शङ्कर ।
१६.
म सङ्ग छन् कुनै भने अनर्थ चाखका कुरा
कहाँ सकिन्छ शैलको समुच्च चढ्न टाकुरा ?
भलाइबाट विश्वको म रङ्गिने तरङ्गिने
छ सोचमा उमङ्ग यो झनन्न झन्न झन्किने ।
१७.
प्रसङ्ग पेश यो गरूँ भने जसो यहाँ भयो
सगोल अर्थतन्त्रको विनाश फैलँदै गयो
छ राष्ट्र आज दन्दनी बली रहेर घाटमा
उकासिने कथा बनोस् सचेत वैद्य साथमा ।
१८.
म लेख्न सक्छु जो छिटो अनेकता निरन्तर
नमिल्छ टिप्पणी कुनै बने स्वयं निरुत्तर
समस्त वाचना कला निशासिए सबै किन
सकिन्न काव्यले कसै प्रभाव भावना दिन ।
१९.
विरक्त पार्न जिन्दगी सशक्त छन् सबै यहाँ
लछार्न वा पछार्नको सदैव बन्छ योजना
समस्त राष्ट्र रित्तियो, छ कोष शुन्य जो यहाँ
म खोज्छु मिल्छ त्यो कहाँ उकास्न राष्ट्र योजना ।
२०
मिलिजुली सकाउने छ राष्ट्र ध्यान एक जो
बुझेर भन्छु यो कुरा अभाव हो विवेकको
छ काम के सचेतको विचार होस् विवेचना
नकार शीघ्र चाहियाे उपाय होस् गवेषणा ।
२१.
न लेख्न, लेख्न के गरूँ छ को र गर्न वाचन
नमाग्न माग्न के गरूँ छ काम के र याचन
विलाप गर्न व्यर्थ हो, विषाद यो अनर्थको
छ पाइला उचालिने शनै शनै समर्थको ।
२२.
मुहार देख्न पाइयो भनेर लेख्न पाइयो
खुसी भएँ खुबै खुबै सचेतना समाइयो
छ धेनु आज गोठमा, सहास्य आज ओठमा
मुहार चट्ट रापिलो छ देखिँदै बनोटमा ।
२३.
छ प्रार्थना सधैँ भरी उदार भावकी परी !
उडी रहे भयो चरी बनी सफा बसुन्धरी
समस्त राग मेटियो, वसन्त वाग भेटियो
कुचक्र चाल रेटियो, सुगन्ध झन् समेटियो ।
२४.
नराख रीस किन्नरी, उदास पो हुने गरी
निकाल दम्भ दुर्दशा छ फाल्न दूर चा
छ भेट्न मात्र आतुरी छ थन्किने छिटै हुरी
बटोल्न स्वच्छता सबै निकाल मान्य माधुरी ।
२५.
हरेक एक शब्दमा छ व्यक्त भावना सफा
पुकार गर्छ प्रेमले मनोविनोदका कथा
सलज्ज देखिँदा परी, खुलस्त उड्न हो चरी
भनेर बुझ्न थालियो मजा उदाउने गरी ।
२६.
कुवा छ भ्यागुतो बसें म मख्ख टर्टराउँदै
चरी बनेर जो उड्यौ निमग्न छौ उदाउँदै
भनूँ भने नकच्चरी, मिलाप हुन्छ के गरी
छ पाइला उचालिँदै विनम्र भावना भरी ।
२७.
म सङ्ग छैन ज्ञानको कथा कुनै रमाइलो
र छैन, छैन, छैन है उपाय पो कमाइको
बिना विभाग च्यापियो, छ हाजिरी सधैं भर
सकिन्न काम त्यो गरी भेटिन्छ नाम दुच्छर ।
२८.
सुटुक्क आउँला कतै म साँझ वा बिहानमा
म पुग्न पर्छ पर्छ है अवश्य काल यानमा
सबेर या अबेरमा छ मर्न बुझ्छु यो कुरा
म पस्छु मोक्ष कुण्डमा वा चढ्छु शैल टाकुरा ।
२९.
गनेर अङ्क तालिका निमग्न धन्य बालिका
मुहारमा पवित्रता तरङ्ग देख्छु तालिका
भनूँ बनूँ म मालिका उदारता प्रसन्नता
दिलाउने छु भव्यता मसङ्ग खेल्न रम्यता ।
३०.
खुसुक्क हाँसियो परी भनेर स्वच्छ प्रेमिका
डराउने हराउने भएन चाल लेखिका
चिनेर बोल्न थालियो उपाय पाइयो सफा
सदावहार जिन्दगी बनाउने छ यो कथा ।
३१.
हजुर सामु आउने विचार राख्न पाउने
अवश्य आउला घडी मुसुक्क छौ उदाउने
म काखमा निदाउने गरेर चिम्म नेत्रमा
विनोद खुल्न आउँछन् बहार हुन्छ केन्द्रमा ।
३२.
सिकाउने टिकाउने सुवास मन्त्रणा गरी
प्रदीप बालियो सफा दवाव छैन याे घरी
अहा ! तिमी उदाउँछ्यौ बनेर कोपिला परी
खुलेर पुष्प वाटिका हुनेछ मुक्त यो घरी ।
३३.
तिमी सुनाउँदै गयौ छ वाचना सुवासमा
उपासना पवित्रता म डाक्छु श्वास श्वासमा
भनेर भन्दछौ पर ।                                                                                           अविचल आस्था मणि
                                         तनहुँ,नेपाल ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]