दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह –आयोजनामा एकल महिलाहरुको नेतृत्व बिकास र अधिकारका बारेमा सचेतना तालिम प्रदान गरि।एको छ ।पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले एकल महिलाहरुको क्षमता बिकास गर्न र उनिहरुलाई उत्पादनमुखि काममा जोड्न वडा कार्यालयले बजेट बिनियोजन गरेर नेतृत्व बिकास तालिमको आयोजना गरेको बताउनुभयो । एकल महिलाहरुलाई राज्यले दिने सेवा सुविधा संगै सामाजिक क्षेत्रमा नेतृत्वगर्ने क्षमताको बिकास गर्न आवश्यक रहेको थापाले बताउनुभयो । स्थानीय सरकारको तर्फबाट पनि एकल महिलाहरुकोे क्षमता बिकासका लागि बिभिन्न योजनाहरु बनाएर वडा कार्यालयले काम गरिरहेको उहाँले कार्यक्रममा जानकारी गराउनु भयो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सल्लाहकार कमल गौतमले एकल महिलाहरुको नेतृत्व बिकास, स्थानीय सरकारले दिने सेवा सुविधाहरु, उनिहरुको हक अधिकार र कानूनी प्रावधान तथा सामाजिक सुरक्षा र न्यायिक समितिले महिलाहरुका लागि गर्ने कामहरु आदिका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु पल्टुराम चौधरी, नरेश चौधरी, दलित शसक्तिकरणका अभियानका जया बिश्वकर्मा, पत्रकार दुखहरण यादव र शिबराज पन्थी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमका लागि सामुदायिक पुस्तकालयको ३० प्रतिशत लागत सहभागिता र वडा कार्यालयको ७० प्रतिशत आर्थिक सहयोग रहेको थियो । कार्यक्रममा कुल ५४ जना एकल महिलाको सहभागिता रहेको थियो ।