
Rgp
Ksbus
Ggp
Ksbus
Lnp
Ggp
Asbus
Msbus
Sdc

काठमाडौँ। सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताउनु भएको छ । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनु भयो ।
(कोभिड-19)संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न उहाँले आग्रह गर्नु भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनु भएको हो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उहाँले बताउनु भयो।
हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ। काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताइएको छ । उपत्यकामा साझा यातायात,मयुर यातायात,सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।
स्रोत : कान्तिपुर
