
Asbus
Ggp
Ksbus
Sdc
Ksbus
Ggp
Msbus
Rgp
Lnp

दाङ । पेट दुख्ने समस्या देखिएपछि ‘गानो गोला’ भएको भन्दै घरेलु उपचारमा लागेका सल्यानका एक ६० वर्षीय पुरुषको अवस्था गम्भीर बनेको थियो । पेटभित्र आन्द्रा फुटिसकेको अवस्थामा अस्पताल पुगेका उनको संजीवनी शिक्षण अस्पताल घोराहीमा चिकित्सकको तत्काल पहलमा सफल शल्यक्रिया गरिएको छ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय प्रेमबहादुर वलीलाई भदौ १८ गते अचानक पेट दुख्यो । पेटमा गानो गोला गएको हुनसक्ने अनुमान गर्दै उनले तत्काल अस्पताल गएनन् । बरु घरमै घरेलु उपचार सुरु गरे ।
घरेलु उपचारका क्रममा उनले तामाको बेलामा आगो बालेर पेट तान्ने विधिसमेत अपनाए । तर त्यसबाट दुखाइ कम भएन । अवस्था झन् गम्भीर बन्दै गएपछि उनि भदौ १९ गते उपचारका लागि घोराही स्थित संजीवनी शिक्षण अस्पताल पुगे ।अस्पताल पुग्दा वलीको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो । अस्पतालका अनुसार उनको रक्तचाप शून्य अवस्थामा पुगेको थियो । त्यसपछि अस्पतालका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. रविन आचार्यले तत्काल आवश्यक जाँच तथा परीक्षण अघि बढाए ।
जाँचका क्रममा वलीको पेटभित्रको आन्द्रा फुटेको पत्ता लाग्यो । आन्द्रा फाटेकै कारण पेटभरी दिशा फैलिएको थियो । आन्द्रा फुटेको अवस्थामा तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने देखिएपछि डा.आचार्य नेतृत्वको चिकित्सकीय टोलीले यथाशीघ्र शल्यक्रिया गर्ने निर्णय गर्यो । जटिल अवस्थाका बाबजुद चिकित्सकको टोलीले तत्काल शल्यक्रिया प्रक्रिया अघि बढायो । शल्यक्रिया सफल भएपछि अहिले वलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
चिकित्सक डा.रविन आचार्यका अनुसार पेट दुख्ने समस्यालाई सामान्य रुपमा लिएर घरेलु उपचारमै बस्दा भित्रभित्रै गम्भीर समस्या विकसित हुनसक्छ । त्यसैले पेट दुख्नेबित्तिकै ‘गानो गोला’ वा अन्य सामान्य समस्या भएको अनुमान गरेर घरेलु उपचार गर्नुभन्दा समयमै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ ।
त्यस्तै,यता संजीवनी शिक्षण अस्पतालले उपचार सेवाको दायरा विस्तार गर्दै विशेषज्ञ स्वास्थ्य सेवा थप गर्दै गएको जनाएको छ । अस्पतालमा हाल न्युरोलोजी र युरोलोजी सेवा सञ्चालनमा छन् भने असोज १ गतेदेखि कार्डियोलोजी सेवा पनि सुरु गर्ने तयारी गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए । अस्पतालले बिरामीलाई उपचारका लागि सहज रुपमा अस्पतालसम्म ल्याउने उद्देश्यले जिल्लाभित्र दैनिक निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत रोकाले बताए ।
प्रेमबहादुर वलीको घटनाले पेट दुख्ने जस्तो सामान्य देखिने समस्यालाई समेत बेवास्ता गर्न नहुने र घरेलु उपचारका नाममा समय खेर फाल्दा सामान्य स्वास्थ्य समस्या पनि ज्यान जोखिममा पार्ने अवस्थासम्म पुग्न सक्ने सन्देश दिएको छ । समयमै अस्पताल पुग्नु नै जीवन जोगाउने पहिलो कदम बन्न सक्छ ।
