दाङ । कोइलाबास नाकाबाट वेवारिसे अवस्थामा एउटा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप सशस्त्र प्रहरी बल भालुवाङले बरामद गरेको हो ।
गढवा गाउँपालिका ८ कोइलाबास नाकास्थित रहेको अन्तरखाल जंगलबाट वेवारिसे अवस्थामा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप बरामद गरेको सशस्त्र प्रहरी बल २९ नं. गण भालुवाङका सशस्त्र प्रहरी उपरिक्षक विनोद केसीले जानकारी दिनुभयो ।
कोइलाबास नाकामा अवैध हातहतियार ओसारप्रसार भैरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल भालुवाङ र बिओपि कोइलाबासबाट गढवा गाउँपालिकामा खटिएको सहायक प्रहरी निरिक्षक माधव ढुंगेलको कमाण्डमा गएको टोलीले उक्त बन्धुकसहित बन्धुकमा प्रयोग हुने गोली र केप बरामद गरेको हो ।
यसैबिच,स्थानीय तह निर्वाचनमा सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप हुन सक्ने कुराको मध्यनजर गर्दै नाकामा रहेको बिओपि र सशस्त्र प्रहरी बिच ७२ घण्टासम्मका लागि सिमानाका बन्द गर्ने सम्झौता भईसकेको एसपी केसीले बताउनु भएको छ । चुनावको समयमा सिमानाकाको सुरक्षालाई लिएर आफूहरु गम्भीर रुपमा लागेको र सिमानाकाको सुरक्षा चुस्तदुरुस्त बनाएको उहाँको भनाई छ ।