काठमाडौं । नेपाली काङ्ग्रेस सिराहा जिल्लाका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ ।
त्यस्तै पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए । पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए । यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएका हुन् । त्यसपछि लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो ।