दाङ । करिब तीन महिना पछि परेको हिउँदे बर्षातले किसानहरुलाई राहत भएको छ । यो पटकको बर्षातले दाङमा गहुँ, मसुरो लगायत तरकारी बालीलाई समेत राहत पुगेको किसानहरुले बताएका छन् ।
त्यसैगरी ढिलोगरी छरेको तोरीलाई समेत मद्धत पुगेको छ । यसपाली हिउँदेवालीको उत्पादन बढ्ने किसानहरुले बताएका छन् । तर चिसो मौसममा परेको दुई दिने झरीका कारण बालबालिका तथा बृद्धबृद्धाहरुको स्वास्थ्य तथा उनीहरुको दैनिकीमा गम्भीर प्रभाव परेको छ ।
सल्यान, रुकुम र रोल्पाका उच्च पहाडी भू–भागमा पनि हिमपात भएको बताइएको छ । पहाडी जिल्लामा हिमपातले र अन्य तराई क्षेत्रमा परेको पानीले किसानहरुलाई फाइदा पुगेको कृषि विज्ञहरुको भनाई रहेको छ ।
कृषि सेवा केन्द्र तुलसीपुरका प्रमुख धनराज गौतमले अहिले परेको पानीले हिउँदे बाली राम्रो हुने बताउनु भएको छ । उहाँले लामो समय पछि हल्का पानी परेको भन्दै यसले गर्दा बालीनालीमा सहयोग पुग्ने उहाँले बताउनु भएको छ ।