दाङ । गढवा गाउँपालिका वडानं. ५ खजरौटा निवासी क्रिमलाल चौधरी रोजगारको शिलशिलामा धेरै बर्ष बिदेशमा बस्नु भयो ।
भारतको गंगानगरमा बसेर अर्काको नोकरी गर्दै गर्दा कोभिड–१९ को महामारी आयो । कोभिड बाट सुरक्षित हुन उहाँ नेपाल घर आउनु भयो । बरु मरेपनि आफ्नै गाउँमा मरम्ला तर अर्काको देशमा मर्न नपरोस भनि म भारतबाट फर्किए ।फर्किएपछि स्वदेशमै घर परिवारसंग संगै बसेर जिविकोपार्जनको केहि काम गरेर स्वदेशमै रमाउने मन जाग्यो–उहाँले भन्नुभयो ।
क्रिमलालसंग बयवसाय गर्ने पैसा पनि थिएन । भारतको जागिरले एनकेन परिवार पालेका क्रिमलाल लाई स्वान संसथाले फेला पार्यो । के खोज्छेस काना,आँखा भनेझैं स्वानले ब्यवसायमा सपोर्ट गर्ने आश्वासन दिएपछि मैले ठेला ब्यवसाय गर्ने र चार्ट तथा पानीपुडी बेच्ने निधो गरें–उहाँले भन्नु भयो । स्वान नेपालले ३० हजारको लगानीमा ठेलागाडा, ग्याँस चुल्हो र सिलिण्डरको जोहो गरिदियो । त्यसमा केहि पैसा आफ्नो पनि लगाएर बिगत १ बर्ष अघि ठेला बयवसाय सुरु गरें,अहिले राम्रै आम्दानी भएको छ–चौधरीले भन्नुभयो ।
अर्काको जागिर,त्योपनि घर परिवारबाट टाढा बसेर अर्कैको बिरोनो देशमा लामो समय बिताएँ । अहिले आफ्नै देश र घर परिवारसंग बसेर पानीपुडी र चार्ट को ठेला ब्यवसाय गरेको छु । दैनिक ७ सय देखी १ हजार सम्म खर्च कटाएर कमाई गरेको छु । गढवा–४ को वडा कार्यालयको नजिकमा ठेलागाडा राख्छु, ग्राहक नभए गाउँमा पनि घुमाउँछु । चार जनाको परिवार पालेर मासिक ३० हजार हाराहारी कमाएको छु बिदेश किन पो जानु पर्यो–उहाँले भन्नुभयो । गाउँघरमै बसेर खरदारले खाने तलब कमाई भएको छ,म संन्तुष्ठ छु । बिदेशमा नपसेर आफ्नै देशमा केहि गरेर आत्मनिर्भर बन्न सकिदो रहेछ–चौधरीले भन्नुभयो ।
क्रिमलाल चौधरीले जस्तै स्वान नेपालको आर्थिक सपोर्टमा गढवा ५ खजरौटाका अन्य ६ जनाले बिदेशबाट फर्केर कसैले बाख्रा पालन गर्नु भएको छ भने कसैले कुखुरा पालन गरेर आत्मनिर्भर बन्नु भएको पाइएको छ । सोही गाउँका लक्ष्मि प्रसाद चौधरी कतारबाट फर्केपछि स्वानको ३० हजार सहयोगमा बाख्रा पालन गरेको बताउनु हुन्छ ।
तिनवटा बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले माउ–पाठा गरेर १८ वटा बनाएको छु–उहाँले भन्नुभयो । त्यत्ति मात्र होइन सोही गाउँकै बंसराज रैदास,सुन्तली चौधरी,शिबप्रसाद रैदास र सरिता चौधरीले स्वान नेपालको ३० हजार सपोर्टमा बाख्रापालन ब्यवसाय गरेर घर परिवार चलाउनु भएको छ भने मिना चौधरीले ब्रोइलर कुखुरा पालेर आफ्नो जिविका राम्रैसंग चलाएको बताउनु हुन्छ । स्वानले हामीलाई सहयोग गरेर बाटो देखायो अब हामी आफ्नै खुट्टामा उभिएका छौं–उहाँहरुको भनाई छ ।
रोजगारको खोजिमा बिदेश गएर पनि कोभिड महामारीका कारण निरास भै घर फर्केका बिपन्न र सिमान्तकृत समुदायका नागरिकहरुलाई स्वान नेपालले पहिचान गरि रोजगार तर्फ उन्मुख गराएको स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरीले जानकारी दिनुभयो । यसरी स्वान नेपालले कोभिड प्रभावित भएर स्वदेश फर्केका गढवाका केहि नागरिकहरुलाई आत्मनिर्भर बन्ने मार्ग प्रसस्त गरेकोमा गढवा गाउापालिकाका अध्यक्ष सहजराम यादवले प्रशंसा ब्यक्त गर्नुभयो । स्वदेशमै केहि गरियो भने मजासंग जिवन गुजार्न सकिन्छ भन्ने यौटा गतिलो उदाहरण दिएका गढवा ५ खजरौटाका यि नागरिकहरुले समाजलाई सकारात्मक सन्देश त दिएकै छन् अर्कोतिर स्वदेशमै बसेर सजिलै कमाउन र जिविका चलाउन सकिने उदाहरण देखाएका छन् ।