दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा भ्रष्टाचार बिरुद्धका २२ हजार ६ सय उजुरी दर्ता भएका थिए । चालु आर्थिक बर्षको चार महिनामा मात्रै पनि ५ हजार ५ सय भन्दा धेरै उजुरी दर्ता भइसकेका छन् ।
नेपालमा भ्रष्टाचार सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै जानुले भ्रष्टाचारको दर पनि बढिरहेको देखाउँछ । सरकारी कार्यालयमा भ्रष्टाचार बढ्दै जाँदा सामान्य सेवा लिन पनि कठिन हुने गरेको सर्वसाधरणको गूनासो छ । तर सन् २०२० मा सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा १ सय १७ औं स्थानमा रहेको देखाएको छ ।
त्यसमा स्थानीय तहको अनियमितता बारेको उजुरी धेरै पर्ने गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनु भयो । आयोगको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७÷६८ मा ६ हजार एक सय ४५ भ्रष्टाचार बिरुद्धका उजुरी परेकोमा आर्थिक वर्ष २०७७÷७८ मा उजुरीको सङ्ख्या २२ हजार ६ सय २५ पुगेको छ । भ्रष्टाचार बिरुद्ध उजुरी गर्ने क्रम बढेपनि भ्रष्टाचार बिरुद्धको अभियान कमजोर हुँदा सामान्य कामको लागि पनि सर्वसाधारणले दुःख पाउने क्रम रोकिएकौ छैन । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।