रोल्पा । आइतबार रोल्पाको घर्तीगाउँमा भएको जीप दुर्घटनामा परि एकै गाउँका चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ जनाले घटनास्थलमा नैई र एक जनाको उपचारको क्रममा मुत्यु भएको हो । रोल्पा प्रहरीका अनुसार दुर्घटनामा परेर एउटै गाउँका ४ जनाको मुत्युले माडी गाउँपालिका शोकमा डुबेको छ ।
यस्तै रोल्पा घर्तीगाउँ बजार नजिकैको सहिदमार्गमा रा १ ज ३२८ नम्बरको जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जीपधनी एवं चालक माडी गाउँपालिका वडा नम्बर ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, ४५ वर्षीय चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) को घटनास्थलमै मृत्यु भएको हो । माडी गाउँपालिका–६ हान्निङकी २१ वर्षीया लिला पुनको उपचारको क्रममा जिल्ला अस्पताल रोल्पामा मुत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरिक्षक नरेशराज सुवेदीका अनुसार घाइतेलाई उद्दार गरी स्मृति हस्पितल घर्तीगाउँमा प्राथमिक उपचार गरिएको थियो । त्यस्तै सुवेदीका अनुसार जीप सडकबाट तीन सय मिटर तल भीरमा खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन । एकै गाउँका चारजनाको मृत्यु र घाइते भएपछि गाउँ शोकमा डुबेको छ । दुर्घटनास्थल सदरमुकाम लिवाङबाट पश्चिम २४ किलोमिटर टाढा छ । घाइते बिना घर्तीको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । यस्तै उनको टाउको र ढाडमा गहिरो चोट लागेको छ । ६१ वर्षिया पञ्चना विकको जिल्लामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।