
Ksbus
Asbus
Sdc
Ksbus
Msbus
Lnp
Ggp
Rgp
Ggp

दाङ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालय, लमही–६, देउपुरले आफ्नो नयाँ विद्यालय भवन निर्माणको औपचारिक शुभारम्भ गरेको छ ।
विद्यालयको शैक्षिक पूर्वाधारलाई थप व्यवस्थित, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित नयाँ भवन निर्माण कार्य सुरु गरिएको विद्यालयले जनाएको छ । नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि थप सहज, सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीका अनुसार विद्यालयको बढ्दो शैक्षिक आवश्यकता, विद्यार्थी संख्या तथा कक्षाकोठाको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ भवन निर्माणको काम अघि बढाइएको हो । उनले विद्यालयलाई समय अनुकूल विकास गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको बताए ।
प्रधानाध्यापक केसीले भने,“विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी हो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरुलाई थप व्यवस्थित वातावरणमा अध्ययन गर्न सहज हुनेछ । विद्यालयलाई आधुनिक,प्रविधिमैत्री र विद्यार्थीको सिकाइलाई केन्द्रमा राखेर अगाडि बढाउने हाम्रो लक्ष्य छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कुमार केसीले नयाँ भवन निर्माणको शुभारम्भ विद्यालयको विकास यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानलाई बलियो बनाउन भौतिक संरचनाको विकास अपरिहार्य रहेको छ ।
अध्यक्ष केसीले विद्यालय भवन केवल इँटा,सिमेन्ट र रडले निर्माण हुने संरचना मात्र नभई विद्यार्थीको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले विद्यालयको विकासका लागि व्यवस्थापन समिति,शिक्षक,अभिभावक, विद्यार्थी तथा समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले भने,“विद्यालयलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने हाम्रो साझा लक्ष्य हो । नयाँ भवन निर्माणले विद्यार्थीको सिकाइ वातावरणलाई थप सहज बनाउने विश्वास लिएका छौँ । विद्यालयको समग्र विकासका लागि व्यवस्थापन समिति निरन्तर सक्रिय भएर काम गर्नेछ ।”
कृष्ण जन्माष्टमीको शुभ अवसरमा भवन निर्माणको शुभारम्भ गर्न पाउनु विद्यालय परिवारका लागि विशेष अवसर भएको विद्यालयले जनाएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान,कर्म, अनुशासन र कर्तव्यको प्रतीकका रूपमा लिइने भएकाले यस पावन अवसरमा विद्यालयको नयाँ विकास यात्राको सुरुवात हुनु अझ अर्थपूर्ण रहेको विद्यालय परिवारको भनाइ छ ।
नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयका विभिन्न कक्षाहरु सञ्चालन गर्न थप सुविधा पुग्नेछ । साथै विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक गतिविधि,अतिरिक्त क्रियाकलाप तथा अन्य सिकाइका कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने अपेक्षा गरिएको छ ।
देउखुरी क्षेत्रमा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षाका लागि आफ्नो छुट्टै पहिचान बनाउँदै आएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, अनुशासन, प्रविधिको प्रयोग तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । विद्यालयले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान,सिर्जनशीलता, नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्वको विकास गराउने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
विद्यालय परिवारका अनुसार नयाँ भवन निर्माणसँगै आगामी दिनमा विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप व्यवस्थित गर्दै लैजाने योजना रहेको छ । विद्यार्थीको बदलिँदो आवश्यकता र समयअनुकूल शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विस्तारलाई निरन्तरता दिने विद्यालयको योजना रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कुमार केसीले विद्यालयको विकासमा अभिभावक तथा समुदायको साथ र सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि सबै पक्षको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रधानाध्यापक भू-माण्डप केसीले नयाँ भवन निर्माणलाई विद्यालयको शैक्षिक विकाससँग जोडेर अघि बढाइने बताउँदै निर्माण कार्यलाई गुणस्तरीय र व्यवस्थित रुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयले नयाँ भवन निर्माणसँगै विद्यार्थी, अभिभावक र शिक्षकका लागि थप सकारात्मक वातावरण सिर्जना हुने विश्वास लिएको छ । कृष्ण जन्माष्टमीको शुभ अवसरमा सुरु गरिएको भवन निर्माणलाई विद्यालयको आगामी शैक्षिक यात्राको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
गुणस्तरीय शिक्षा,आधुनिक पूर्वाधार र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो शैक्षिक यात्रालाई थप सुदृढ बनाउने लक्ष्यसहित नयाँ भवन निर्माणको यात्रा सुरु गरेको विद्यालयले जनाएको छ ।
