
Msbus
Ksbus
Ggp
Rgp
Ggp
Ksbus
Sdc
Lnp
Asbus


काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारसँग तत्कालीन व्यवस्थापनका लागि विभिन्न माग राखेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँग शनिबार सिंहदरबारमा भेट गर्दै आङ्देम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्न नौबुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।
उनले विशेषगरी हवाई उद्धारलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट परिचालन गर्नुपर्ने बताएका छन्। नेपाली सेनाले गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै उनले थप स्रोतसाधन परिचालनमा जोड दिएका छन्।
बाढीका कारण अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ। क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये कम्तीमा सात स्थानमा तत्काल बेलीब्रिज जडान गरी रसुवा, नुवाकोट र धादिङको आवागमन सहज बनाउनुपर्ने उनले बताएका छन्।
त्यसैगरी विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन, सम्पर्कविहीनको खोजी तथा बाढीले बगाएर ल्याएका शवको पहिचान र व्यवस्थापनलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्।
उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानबाट आवश्यकताअनुसार काठमाडौँसम्म ल्याउन यातायातको व्यवस्था गर्न तथा घाइते र ज्येष्ठ नागरिकको उपचारमा विशेष प्राथमिकता दिन पनि आङ्देम्बेले आग्रह गरेका छन्।
नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा उपचाररत घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा ज्येष्ठ नागरिकका लागि आवश्यक शय्या उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।
स्थानीय तहसँग सङ्घीय सरकारले प्रभावकारी समन्वय गर्नुपर्ने र राहत वितरणमा सहयोग गर्न इच्छुक सामाजिक सङ्घसंस्थालाई सहज वातावरण बनाउनुपर्ने उनले बताएका छन्। त्रिशूलीसहित नदी क्षेत्रमा आवतजावतका लागि तुइनको शीघ्र व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्को अवस्थामा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै आङ्देम्बेले उद्धार, राहत र पुनःस्थापनाका काममा सरकारसँग सहकार्य गर्न नेपाली कांग्रेस तयार रहेको बताएका छन्।
