
ksbus
Sdc
Amb


कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली काङ्ग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिए । उनका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो ।
त्यस्तै,सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए । त्यसपछि आफन्तसहितको टोली खोजीमा निस्किएको थियो । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
यस्तै,शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए । सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
