
Dbc
Amb
Sdc


दाङ । बीपी स्मृति दिवसको अवसरमा लायन्स क्लब अफ देउखुरी गोरक्षले वृक्षारोपण तथा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
“भोकालाई भोजन, प्यासीलाई पानी” भन्ने मानवीय नारालाई आत्मसात गर्दै क्लबले लमही बजार क्षेत्रमा बाटोमा हिँड्ने बटुवा, विपन्न तथा बेसहारा व्यक्तिलाई भोजन तथा खानेपानी उपलब्ध गराउने उद्देश्यले जय महाकाल युवा संघलाई खाद्यान्न हस्तान्तरण गरेको हो । यसै अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लमही आँखा अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष रविन्द्र जिसी, सदस्य रेशमबहादुर खड्का, लिला खनाल तथा लमही आँखा अस्पतालका व्यवस्थापन प्रमुख शशी लामिछानेले मानव सेवा, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरू, लमही आँखा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, जय महाकाल युवा संघका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव गोविन्द रेग्मीले गरेका थिए ।
लायन्स क्लब अफ देउखुरी गोरक्षले मानव सेवा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

