
Bs1
Gsl
Pbu


दाङ । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो ।
प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी,निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको छ ।अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका वडा नम्बर–२ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले हरेक वर्ष लाखौं बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए ।
‘तपाई हामीले रोपेका बिरुवा अर्को वर्ष हुर्किएको देख्न पाउनुपर्छ’उनले भने,‘वन,वातावरण र जैविक विविधताको संरक्षणले नै मानव जीवन सुरक्षित हुन्छ । अहिले वातावरणीय चुनौती बढिरहेका बेला प्रकृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।’ मुख्यमन्त्री आचार्यले वन संरक्षणसँगै आयआर्जनको माध्यम पनि बनेको उल्लेख गर्दै जडीबुटी,काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताए । वन क्षेत्रबाट प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निम्त्याउने चेतावनी दिए । उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन,अन्य ठाउँमा मौवा प्रजातिका बिरुवा,डाले घाँस,फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । बिरुवा रोपेर मात्रै नहुने, त्यसको नियमित संरक्षण र हेरचाह गर्नुपर्ने उनको भनाइ थियो ।
लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याइन् । डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षारोपण सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण,डढेलो व्यवस्थापन,गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएको जानकारी दिए । ती बिरुवाको संरक्षण गर्ने जिम्मेवारी सामुदायिक वन र उपभोक्ताकै रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको सिर्जनामा तयार गरिएको वन संरक्षणसम्बन्धी गीतको समेत मुख्यमन्त्री आचार्यले सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले गरेकि थिइन् ।

