
Sdc
Asbus
Ggp
Rgp
Lnp
Msbus
Ksbus
Ksbus
Ggp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पढ्दै कमाउँदै’ शिक्षा कार्यक्रमबारे सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई अध्ययनसँगै सीप, उद्यमशीलता र आयआर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यवहारिक,सीपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।
कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमको अवधारणा, आवश्यकता र सम्भावनाबारे सहजीकरण गरेका थिए । उनले वर्तमान समयमा केवल औपचारिक शिक्षाले मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरुले अध्ययनकै क्रममा विभिन्न सीप तथा प्रविधिको प्रयोगमार्फत आयआर्जनका अवसर सिर्जना गर्न सक्ने बताए ।
सिग्देलले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता, नेतृत्व विकास तथा उद्यमशील सोचको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे । विद्यालय शिक्षा, श्रम र उत्पादनबीचको सम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरुलाई सानै उमेरदेखि सीपमूलक गतिविधिमा सहभागी गराउन सके भविष्यमा स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न सहज हुने बताए । उनले डिजिटल प्रविधि, कृषि, उद्यम, नवप्रवर्तन तथा स्थानीय स्रोतसाधनमा आधारित आयआर्जनका सम्भावनाबारे समेत जानकारी गराएका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले शिक्षालाई व्यवहारिक, सीपमूलक र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यार्थीहरुलाई सक्षम,प्रतिस्पर्धी र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने बताए । अध्ययनसँगै सीप र श्रमप्रतिको सम्मानको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।
त्यस्तै,उनले गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरुलाई आधुनिक ज्ञान,प्रविधि र सीपसँग जोड्ने कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए ।
शाखा प्रमुख विश्वास विकले कार्यक्रमको उद्देश्य, कार्ययोजना तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै विद्यार्थीहरुलाई रोजगार तथा स्वरोजगार उन्मुख बनाउन विद्यालय तहबाटै आवश्यक वातावरण सिर्जना गर्नुपर्ने बताए । शिक्षालाई परीक्षा र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउन ‘पढ्दै कमाउँदै’ कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरुले ‘पढ्दै कमाउँदै’ कार्यक्रमले शिक्षालाई जीवनोपयोगी बनाउने,आत्मविश्वास अभिवृद्धि गर्ने तथा स्वरोजगारका सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सहभागीहरुले विद्यार्थीमा उद्यमशील सोच, सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा समेत राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,प्राविधिक धारमा अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । राप्ती गाउँपालिकाले आगामी दिनमा पनि शिक्षालाई व्यवहारिक, सीपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
