
Asbus
Sdc
Msbus
Ggp
Ksbus
Ksbus
Rgp
Ggp
Lnp


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरुले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेकाे बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन् ।
नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक विशेषज्ञहरुसँगको सहकार्यमार्फत अनुसन्धानलाई नतिजामुखी बनाउन सकिने बताए । उनले किसानलाई व्यावसायिक बनाउन प्राविधिक क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे ।
नयाँ समस्या देखिँदा त्यसको पहिचान र समाधानका लागि अनुसन्धान गर्ने जिम्मेवारी प्राविधिकहरूले लिनुपर्ने उनको भनाइ थियो । `मानिसका डाक्टरभन्दा पशु चिकित्सकहरुको जिम्मेवारी अझ बढी हुन्छ,´उनले भने,`पशुमा लाग्ने रोगको सही निदान र उपचार भएमा मानिसमा सर्ने धेरै रोगहरु स्वतःनियन्त्रण हुन्छन् । त्यसैले भूमिका महत्त्वपूर्ण छ ।´
मुख्यमन्त्री आचार्यले अस्वस्थकर खाद्य प्रणाली नै धेरै रोगहरुको मूल कारण रहेको पनि औंल्याए । उनले परम्परागत पेशालाई बेवास्ता गर्दा उत्पादनमा कमि आएको उल्लेख गर्दै त्यसतर्फ पुनःध्यान दिन आवश्यक रहेको बताए ।
यसैबीच मुख्यमन्त्री आचार्य मुलुक साझा प्रयत्नले मात्रै समृद्ध बनाउन सकिने बताए ।`यो मुलुक हामी सबै मिलेर बनाउने हो, कुनै अलौकिक शक्तिले बनाएर दिने होइन,´उनले भने`हाम्रो साझा प्रयासबाट मात्रै जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ ।´
